बाँस्कोटा टेप काण्ड: देउवाको प्रधानमन्त्रीलाई प्रश्न- छानबिन प्रभावित पार्न खोजेको हुन्छ कि हुँदैन?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकरणको छानबिन अघि नबढाएकोमा गम्भीर असन्तुष्टी व्यक्त गरेका छन्।

RSS
देउवाले अडिओको छानबिन नभइ प्रधानमन्त्री केपी ओलीले त्यो नक्कली भएको भनी टिप्पणी गरेकोमा कडा आपत्ति प्रकट गरे।
उनले भने, "अडिओ नक्कली भन्नुले छानविन प्रभावित हुन्छ कि हुँदैन? छानविन हुनुभन्दा पहिला नै तपाईंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वशनियता कमजोर भएन?"
संसदमा विशेष समय लिएर बोल्दै उनले ७० करोड रूपैयाँ जोडिएको कमिसन प्रकरण जोडिएको उक्त टेपबारे प्रधानमन्त्रीले व्यक्त गरेका धारणाको आलोचना गरे।

नियतमाथि प्रश्न

उक्त टेप बाहिर आएपछि सञ्चारमन्त्रीले राजीनामा दिएपनि त्यसलाई लिएर औपचारिक रूपमा अनुसन्धान गर्ने या नगर्नेबारे सरकारले केही बताएको छैन।
प्रतिनिधिसभा बैठकमा लिखित टिपोट लिएर करिब ३ मिनेट बोलेका देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण सार्वजनिक भएको कैयौँ दिन बित्दा पनि यसबारे छानबिन अघि नबढाइनुको नियत गम्भीर रहेको बताए।
उनले भने, "सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर अडिओमा बोलेको प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन् भनेर म प्रधानमन्त्रीलाई सोध्न चाहान्छु। हामीभित्र को को पर्दछन् प्रष्ट गर्नुहोस।"
यो बीचमा अनुमति नलिई आफ्नो अडिओ रेकर्ड गरिएको र आफ्नो बेइज्जत गरिएको भन्दै बाँस्कोटाले उक्त टेप बाहिर ल्याउन भूमिका खेलेका भनिएका एउटा स्वीस कम्पनीका स्थानीय एजेन्टविरूद्ध मुद्दा दायर गरेका छन्।
नेपाल ट्रष्टको लीजमा आफ्नो नाम मुछेकोमा आपत्ति
सरकारी स्वामित्वमा ल्याइएका पूर्व राजपरिवारका सदस्यहरूको सम्पत्ति संरक्षण गर्ने जिम्मेबारी पाएको नेपाल ट्रष्टको श्वेतपत्रमा गोकर्ण रिजोर्ट लीजमा भाडामा दिने प्रसङ्गमा आफ्नो नाम मुछिएकोमा देउवाले आपत्ति जनाए।
खासगरी यती होल्डिङ्सलाई पूर्व राजपरिवारको सम्पत्ति भाडामा लगाउने विषयलाई लिएर प्रधानमन्त्री ओलीको चर्को आलोचना भएपछि जारी गरिएको श्वेत पत्रमा काँग्रेस नेता देउवा र अर्का नेकपा नेता प्रचण्डको नाम उल्लेख गर्दै उनीहरूका पालामा भएका त्यस्तै प्रकृतिका सम्झौता किटान गरिएका थिए।
संसदमा बोल्दै देउवाले सञ्चार मन्त्रालयले आरोप बेहोरिरहेका अनियमितताबाट ध्यान मोड्न श्वेतपत्र ल्याइएको बताए।
उनले भने, "म प्रधानमन्त्री भएको बेला मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्ट सम्बन्धी कुनै निर्णय मन्त्रिपरिषद्‍बाट भएको छैन। राजनीतिक पूर्वाग्रहवस मेरो नाम जोडिएको विषय र जोड्ने षडयन्त्रप्रति मेरो गम्भीर आपत्ति छ।"
यसअघि समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेकपाकै नेता एवं गृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टको जग्गा सम्बन्धी विषयमा गलत नियत राखेर आफ्नो नाम मुछिएको बताएका थिए।