नेपालमा कोरोनाभाइरसबारे तयारी: ज्वरो वा रुघामा एक्लिएर बस्न विज्ञको सुझाव

कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि चीन सहितका तेश्रो देशबाट नेपाल भित्रिने मानिसहरूबाहेक देशभित्रै पनि देखा पर्नसक्ने शङ्कास्पद घटनाहरूबारे निगरानी बढाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
Source: BBC

अधिकारीहरूले कोभिड-१९ सङ्क्रमणसँग मिल्दाजुल्दा सङ्केतहरू मानिसहरूमा देखिए त्यसबारे अध्ययन अघि बढाउन जाँचहरू गर्ने भन्नेबारे बुधवार बसेको प्राविधिक समितिको बैठकमा छलफल भएको जनाएका छन्।
चीनबाट सुरू भएको कोरोनाभाइरसको सङ्क्रमण ८० हजार भन्दा बढी मानिसमा देखा परेको छ र ३० भन्दा बढी देशमा फैलिसकेको छ।
अधिकांश सङ्क्रमण र मृत्यु चीनमा भएपनि पछिल्ला दिनमा दक्षिण कोरिया, इटली र इरानले उक्त भाइरसलाई नियन्त्रण गर्न संघर्ष गरिरहेका छन्।
विश्व स्वास्थ्य सङ्गठन डब्लु एच ओले चीनबाहिर बढेको कोरोनाभाइरसको सङ्क्रमणको तहलाई चिन्ताजनक बताइरहँदा सरूवा रोग नियन्त्रण सम्बन्धी अमेरिकी निकाय सेन्टर फर डिजिज कन्ट्रोलले अमेरिकामा कोरोनाको सङ्क्रमण वृद्धि अवश्यम्भावी भएको चेतावनी दिएको छ।

सावधानी

यी विवरणका माझ नेपालको स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्राविधिक समितिको बैठकमा कोरोनाभाइरस सङ्क्रमणको पूर्वसावधानी र जनचेतना बढाउने विषयलाई प्राथमिकतामा राख्ने निर्णय भएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ भन्छन्, "बाहिरबाट सङ्क्रमण नआओस् भन्नका लागि जुन जुन देशमा सङ्क्रमण देखिएको छ त्यहाँबाट आउने यात्रुहरूको विमानस्थलमा परीक्षण गर्नेछौँ। विगतमा हामीले चीनबाट फर्किएकाहरूलाई मात्रै जाँच गर्थ्यौँ। तर अब देशभित्र पनि कुनै शङ्कास्पद बिरामीहरू देखिए भने अध्ययनका लागि अरू जाँचहरू पनि गर्ने भन्ने भएको छ।"
उनी थप्छन्, "भारत र चीन दुवैतर्फका सीमा क्षेत्रमा अझ कडाइ गर्ने र ज्वरोजस्तो सङ्क्रमणका लक्षणको जाँच गर्ने कुरा भएको छ।"
कोरोनाभाइरसका सङ्क्रमित बिरामीको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई अत्यावश्यक 'पीपीई' भनिने व्यक्तिगत सुरक्षा सुनिश्चित गर्ने पोशाक सहितको व्यवस्था पर्याप्त नरहेको अधिकारीहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले एक हजारवटा त्यस्ता किटहरू रहेपनि हालै चीनको वुहानबाट उद्दार गरिएका १७५ नेपालीहरूलाई स्वदेश फर्काउँदा लगभग सबै सिद्धिएको भन्दै त्यसको खरिदका लागि प्रकिया अघि बढाइएको बताए।
"यो नेपालमा नपाइने तर अभाव भएको सामग्री हो। हामी खोजी गर्दैछौँ। अहिलेसम्मलाई पुगिरहेको छ तर यो ठूलो मात्रामा चाहिने भएकाले टेन्डर गरेर जुटाउने प्रयास गरिरहेका छौँ।"

जनचेतनामा जोड

तर कोभिड-१९ को सङ्क्रमणलाई नजिकबाट नियालिरहेका विज्ञहरू यसको सङ्क्रमण रोक्न सक्ने स्तरको क्षमता कुनै एक देशसँग नहुने भन्दै जनचेतना र सामुदायिक प्रयासहरूलाई अघि बढाइनुपर्ने बताउँछन्।
सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर अनुप सुवेदी भन्छन्, "जुन स्तरमा कोरोनाभाइरस फैलिरहेको छ, विश्वभरि नै अहिले सङ्क्रमण देखापरेपछि अघि बढाइने उपचार विधिबाट यसलाई रोक्न सकिँदैन भन्ने अनुभूति हुन थालेको छ। यसलाई पुरै दबाउने वा नियन्त्रण गर्न नसकिने भएकाले प्रत्येक सङ्क्रमणका घटना पहिचान गर्नुभन्दा पनि साधारण शंकास्पद लक्षणहरू देखिँदा घरभित्रै बस्ने, अस्पताल पनि नजाने र अरूलाई नसार्ने बाटो अपनाउनुपर्छ।"
उनले गाह्रो हुँदा मात्रै अस्पताल जाने अन्यथा कोरोनाभाइरस सङ्क्रमणको लक्षणसँग मिल्दोजुल्दो सङ्केत देखिएको अवस्थामा आफूलाई भिडभाड हुने कार्यक्रममा भाग लिने सहितका सामाजिक गतिविधिबाट अलग गर्ने जस्ता विषयमा राज्यले जनचेतनामूलक अभियान चलाउनुपर्ने बताए।
त्यसबाहेक कोरोनाको सङ्क्रमण देखा परिहाले उपचारमा खटिने स्वास्थ्यकर्मीहरू थला नपरून् भनेर स्वास्थ्यकर्मीहरूले लगाउनुपर्ने मास्क, गाउन सहितका किटको उपलब्धता सुनिश्चितता गरिनुपर्ने उनले बताए।
"अहिले तत्काललाई पुग्ने भएपनि ठूलो समस्या देखियो भने हामीलाई पुग्दैन। अरू देशमा पनि समस्या होला तर हाम्रोमा अलि ट्डकारो समस्या देखिन्छ।"
सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर सुवेदी जोखिममा रहेका र कमजोर रोगप्रतिरोधी क्षमता भएका वृद्धवृद्धालाई सङ्क्रमणबाट जोगाउने उपायका बारेमा पनि जनचेतना जगाउनुपर्ने सुझाव दिन्छन्।
कोरोनाभाइरसको सङ्क्रमण देखिएका बिरामीलाई अरूबाट अलग गरेर उपचार गर्न सकिने आइसीयू जस्ता संरचना ठूलो स्तरमा तत्कालै बनाउन सम्भव नरहेको र त्यहाँ खटिने पर्याप्त जनशक्ति तत्कालै जुटाउन पनि चुनौती रहेकाले गर्न सकिने कुरामा राज्य बढी केन्द्रित हुनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।

लक्षण

सुरूमा ज्वरोको लक्षण देखा पर्ने कोरोनाभाइरसको सङ्क्रमणमा त्यसपछि सुख्खा खोकी देखा पर्ने अनि एक हप्तापछि स्वासप्रस्वास गाह्रो हुने र केही बिरामीलाई अस्पताल लैजानुपर्ने अवस्था आउने बताइन्छ।
यो सङ्क्रमणका कारण विरलै सिँगान बग्ने वा हाच्छिउँ आउने बताइन्छ।
सङ्क्रमण र यी लक्षणहरू देखिनेबीचको समय १४ दिनसम्म हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएपनि कतिपय अनुसन्धानकर्ताहरूले त्यो बढीमा २४ दिनसम्म हुनसक्ने उल्लेख गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले साबुन र किटाणुमार्ने जेलको प्रयोगले हात धुने, रुघा वा खोकी लाग्दा पातलो रुमाल वा 'टिस्यू'ले मुख छोपेर भाइरस फैलनबाट रोक्ने अनि आफ्नो आँखा, नाक र मुखलाई कुनै कारणले भाइरसबाट सङ्क्रमित भइसकेको स्थान छोएको हातले नछुने जस्ता सावधानीका उपाय अपनाउन सुझाएको छ।
उसले ज्वरो र रुघाजस्ता लक्षण देखिएका व्यक्तिबाट भाइरस सर्न सक्ने भन्दै उनीहरूबाट एक मिटर पर बस्न सुझाव दिएको छ।

Source: BBC Nepali (Read this on BBC Nepali)